Showing posts with label Dambar Kaji & his Sons. Show all posts
Showing posts with label Dambar Kaji & his Sons. Show all posts

Thursday, July 18, 2013

डम्बर काजी र उनका छोराहरु - कन्था २ – फलाटिन

डम्बर काजी र उनका छोराहरु
(Dambar Kaji and his Sons)

कन्था २ – फलाटिन

नगेन्द्रका पिता घाम तापिरहेका थिए । थापा काजि नयाँ लुगामा ठाँटिएर ठमठम पर्दै माथि उक्ल्यो ।

“बुझ्नु भयो खड्का बाजे, मैले त फलाटिनको कपडा लाउन थालें । खद्दरको कपडा त तुच्छ हुन्छ, जिउ चिलाउने मात्रै।” – ओच्छ्याइएको सुकुलमा बस्दै थापाले भन्यो ।

आफ्नु दौरामा भएका जुम्रा मार्दै गरेका खड्का बाजेले बिस्तारै टाउको उठाएर थापा काजि उपर गौर गरे । दर्जीले टायम अनुसारको फेसनमा सिलाएको फलाटेनका नयाँ लुगा आकर्षक देखिन्थ्यो । नयाँ लुगा बुढालाई देखाउन पाउँदा थापाको नाक फुलेर घिरौंला जत्रो भएको थियो ।

“कठै बरा खड्का बाजे, नागिन्द्रले एक सरो राम्रो कपडा पनि लाउन दिंदैनन् कि क्या हो ? हेर लुगाको गति !” – बुढाले हातमा लिएको चिथरा प्रति इंगित गर्दै थापा भन्छ । खड्का बुढाको प्रतिक्रिया पर्खंदै नपर्खी थापा अझै भन्छन् – “यस्तो थाङ्ना जस्तो लुगाले त जुत्ता पुच्छन् मान्छेले । खै एता ल्याउनुस !” त्यसो भन्दै बुढाको हातको दौरा थुत्दै थापा आफ्नो जुत्ता पुच्छन थाल्छन् । खड्का बुढा रिसले आगो हुन्छन् र बम्किनछन् ।

“एई पाजी थापा, के गर्यौ मेरो दौराले !”

“अनि के त, खड्का बाजेले पनि एस्तो लाउने ! अलि सुहाएन । कपडा भन्या त एस्तो हुन्छ – फलाटिनको ।” – जिउमा भाउ लाउँदै थापाले प्रतिबाद गर्न खोज्यो । तर बुढा के रोकिन्थे र, उल्टै बरण्डाबाट दुई हात माथि उफ्रौंला झैँ गरि जोड रफ्तारले कराउन थाले -

“कुनै काँठाको जग्गा दलाली गरेको पैसाले हाल्यौ होला फलाटेन, मलाई केको देखाउँछौ ? खद्दर लाउँ कि मलमल तिमिलाई घरघरै आएर चियाउने के को चासो ! गै हाल तिमि यहाँ बाट ।”

थापा भुत्भुताउँदै घरबाट निस्कियो र बुढा स्याँ-स्याँ गर्दै लज्जित भएर पुन: दौराका परजीबी हेर्न थाले ।

त्यस दिन बेलुकी खाना खाने बेलामा नागिन्द्रका पिता माथि भान्सामा उक्लिछन् जहाँ नागेन्द्र खाना खाना लागेका हुन्छन् । दाहिने हातमा आफ्नु चिथरा र देब्रे हातमा नागिन्द्रको सुकिलो कोट लिँदै खड्का बुढा छेउको पिर्कामा बस्चन र एकछिन नागिन्द्रलाइ गौर गर्छन् । टाउको घुमाएर चुल्हो छेउ बसेकी बुहारीलाई हेरी बुढा कतै सुदुर क्षितिज तिर हेरेको जसरि भित्तामा एकटकले हेर्छन् र गुन्गुनाउन थाल्छन् –

“कोहीको लुगा बत्तुले बलेको, कोहीको लुगा बाह्र ठाउँ टालेको हाम्रो नेपाल् मा ... ”

तत् समयमा नागिन्द्रको गाँसमा ढुंगा लाग्छ र मट्टीतेल सकिएको डिबियाको बत्ति बिस्तारै मधुरो हुँदै निभ्छ, भान्छा अन्धकार हुन्छ । उता बुढा अगिकै गीत एकोहोरो रटान लागाइरहेका हुन्छन् – “बाह्र ठाउँ टालेको हाम्रो नेपालमा ... ” । अँध्यारोको गाँस छाडेर नागिन्द्र डिबियामा बत्तिको जोहो गर्न लागेकी  श्रीमती उपर खानिन्छन् –

“तिमि दिउँसै मट्टीतेल किन हाल्दौन, बजारमा मट्टीतेल किन्न पाइदैन र ? घाम छँदै चामल हेर्छौ कि हेर्दौन ? किन यति बिघ्न ढुंगा भातमा .... ”

नागिन्द्र कराउँदै थिए, श्रीमती मट्टीतेल खोज्दै थिईन् र तल भर्याङबाट मधुरो गुनगुन आउँदै थियो - “... बाह्र ठाउँ टालेको हाम्रो नेपालमा ...”  


इति । (पौष २०६२ मा लेखिएको र श्रावण ३, २०७० मा केहि अंश थप गरिएको ।)


Saturday, July 6, 2013

डम्बर काजी र उनका छोराहरु - कन्था १ – दम

डम्बर काजी र उनका छोराहरु
(Dambar Kaji and his Sons)

कन्था १ – दम

एकदिन नगेन्द्रका पिता ठाँटिएर बहिर जान तम्सिए । भर्खरै सिइएको खरानी रंगको नयाँ दौरा सुरुवाल लगाए औ कान छोपेर गुटुमुटु पारि एक पुरानु गलबन्दी लगाए । घुडाँ सम्म आइपुग्ने पुरानो भुवा उठेको बाक्लो ओभरकोट लगाए । कालो जुत्ता र ढाका टोपी पहिरेर हातमा लट्ठी समातेर उनि सहर निस्किए ।

बिस्तारै बिस्तारै हिँड्दै उनि इन्द्रचोक आइपुगे । उनि नाजिकैको एउटा कपडा पसल अगाडी को सिँढीमा लौरो टेकेर बसे र बाटोमा ओहोर दोहोर गर्ने बटुवाहरु नियाल्न थाले । केहि बेर पछि एउटा सिरक डसना बनाउने मधिसे व्यक्ति आफ्नो तान ‘त्याइँ... त्याइँ...’ पार्दै बुधाकै छेउ आयो र उनकै समिपमा बस्यो  ।  बुढा त्यस मधिसेलाई क्वारक्वार्ती हेर्न थाले  । मधिसे भने आफ्नै सुरमा खल्तीबाट खैनी झिकेर मोल्न थाल्यो  । चुना सहित हालेर मालेको खैनीको पिरो राग बुढाको नाकको पोरामा पसे  । बुढालाइ खसखस भयो । नाक हातले रगड्दै बुढाले भने –

“त्यसलाई अलि उता लैजाउ ... अलि उता ...” ।

मधिसेले सायद बुझेन, बुढाकै मुखमा हेरेर खैनी मोल्न थाल्यो । बुढा नाक खुम्च्याउँदै रगड्दै थिए, एउटा पट्ठो विँडी तान्दै आएर बुढाको अर्को पट्टि छेउमा बस्यो  । बुढाले त्यस पट्ठोलाइ हेरेका मात्र के थिए, पट्ठोले सरर पारेर विँडीको धुवाँ छोड्यो  । बुढा निसासिए र खोक्दै मधिसे भए तर्फा फर्किए  । मधिसेले त झन् बुढाकै नाक छेउ हात ल्याएर मोलिरखेको खैनीलाइ ‘ढप् ढप्’ गर्यो  । खैनी र चुनाको धुलो बुढाको नाक भित्र छिर्यो औ बुढाले जोडले हाच्छ्यूँ गरे  । बुढाको हाच्छ्यूँले मधिसेको सब खैनी उड्यो  । तब जुरुक्क उठेर बुढा कराउँछन् -      

“के गर्या त्यो, के गर्या त्यो ? तेरो बाउलाइ मर्न खोज्या !?”

अचम्मित हुँदै मधिसे व्यक्ति कराउँछ –

“कैसन आदमी है, हमार सब खैनी चुना उडागिल और हमीको गालि करिल !?”

बुढाले फेरी एक जबर्जस्त हाच्छ्यूँ गरे र फन्किएर त्यहाँबाट हिँडे । बाटाभरि बुढाले चार पाँच पटक हाच्छ्यूँ गरे । जब बुढा घर पुगे, घरको ढोकाबाट छिर्नै लाग्दा माथि बार्दलीबाट कसैले धान राख्ने गरेको पुरानो जुटको बोरा जोडले झट्कार्यो । बोराको धुलो र राग सबै बुढा उपर खनियो औ बुढाको नाक सम्म पुगे । बुढाले फेरी हाच्छ्यूँ गरे र बोरा झट्कार्ने व्यक्तिलाइ आवेगमा सकिञ्जेलको बल झिकेर कराउन थाले । दमका पुराना रोगि बुढाको जिर्ण शरिरले धुलो, नाक रग्-रगाउने राग र कराई के थेग्थ्यो र ! कराउन थाल्दा नथाल्दै उनको स्याँ स्याँ बढि हाल्यो र उनि भर्याङको खुट्किलामा थ्याच्च बसे ।


इति । ०८-०९-२०६२ ।