डम्बर काजी र उनका छोराहरु
(Dambar Kaji and his Sons)
कन्था २ – फलाटिन
नगेन्द्रका पिता घाम तापिरहेका थिए । थापा काजि नयाँ लुगामा ठाँटिएर ठमठम
पर्दै माथि उक्ल्यो ।
“बुझ्नु भयो खड्का बाजे, मैले त फलाटिनको कपडा लाउन थालें । खद्दरको कपडा त तुच्छ
हुन्छ, जिउ चिलाउने मात्रै।” – ओच्छ्याइएको सुकुलमा बस्दै थापाले भन्यो ।
आफ्नु दौरामा भएका जुम्रा मार्दै गरेका खड्का बाजेले बिस्तारै टाउको उठाएर थापा
काजि उपर गौर गरे । दर्जीले टायम अनुसारको फेसनमा सिलाएको फलाटेनका नयाँ लुगा
आकर्षक देखिन्थ्यो । नयाँ लुगा बुढालाई देखाउन पाउँदा थापाको नाक फुलेर घिरौंला जत्रो
भएको थियो ।
“कठै बरा खड्का बाजे, नागिन्द्रले एक सरो राम्रो कपडा पनि लाउन दिंदैनन् कि
क्या हो ? हेर लुगाको गति !” – बुढाले हातमा लिएको चिथरा प्रति इंगित गर्दै थापा
भन्छ । खड्का बुढाको प्रतिक्रिया पर्खंदै नपर्खी थापा अझै भन्छन् – “यस्तो थाङ्ना
जस्तो लुगाले त जुत्ता पुच्छन् मान्छेले । खै एता ल्याउनुस !” त्यसो भन्दै बुढाको
हातको दौरा थुत्दै थापा आफ्नो जुत्ता पुच्छन थाल्छन् । खड्का बुढा रिसले आगो
हुन्छन् र बम्किनछन् ।
“एई पाजी थापा, के गर्यौ मेरो दौराले !”
“अनि के त, खड्का बाजेले पनि एस्तो लाउने ! अलि सुहाएन । कपडा भन्या त एस्तो
हुन्छ – फलाटिनको ।” – जिउमा भाउ लाउँदै थापाले प्रतिबाद गर्न खोज्यो । तर बुढा के
रोकिन्थे र, उल्टै बरण्डाबाट दुई हात माथि उफ्रौंला झैँ गरि जोड रफ्तारले कराउन
थाले -
“कुनै काँठाको जग्गा दलाली गरेको पैसाले हाल्यौ होला फलाटेन, मलाई केको
देखाउँछौ ? खद्दर लाउँ कि मलमल तिमिलाई घरघरै आएर चियाउने के को चासो ! गै हाल तिमि
यहाँ बाट ।”
थापा भुत्भुताउँदै घरबाट निस्कियो र बुढा स्याँ-स्याँ गर्दै लज्जित भएर पुन: दौराका
परजीबी हेर्न थाले ।
त्यस दिन बेलुकी खाना खाने बेलामा नागिन्द्रका पिता माथि भान्सामा उक्लिछन् जहाँ
नागेन्द्र खाना खाना लागेका हुन्छन् । दाहिने हातमा आफ्नु चिथरा र देब्रे हातमा नागिन्द्रको
सुकिलो कोट लिँदै खड्का बुढा छेउको पिर्कामा बस्चन र एकछिन नागिन्द्रलाइ गौर
गर्छन् । टाउको घुमाएर चुल्हो छेउ बसेकी बुहारीलाई हेरी बुढा कतै सुदुर क्षितिज
तिर हेरेको जसरि भित्तामा एकटकले हेर्छन् र गुन्गुनाउन थाल्छन् –
“कोहीको लुगा बत्तुले बलेको, कोहीको लुगा बाह्र ठाउँ टालेको हाम्रो नेपाल् मा
... ”
तत् समयमा नागिन्द्रको गाँसमा ढुंगा लाग्छ र मट्टीतेल सकिएको डिबियाको बत्ति
बिस्तारै मधुरो हुँदै निभ्छ, भान्छा अन्धकार हुन्छ । उता बुढा अगिकै गीत एकोहोरो
रटान लागाइरहेका हुन्छन् – “बाह्र ठाउँ टालेको हाम्रो नेपालमा ... ” । अँध्यारोको
गाँस छाडेर नागिन्द्र डिबियामा बत्तिको जोहो गर्न लागेकी श्रीमती उपर खानिन्छन् –
“तिमि दिउँसै मट्टीतेल किन हाल्दौन, बजारमा मट्टीतेल किन्न पाइदैन र ? घाम छँदै
चामल हेर्छौ कि हेर्दौन ? किन यति बिघ्न ढुंगा भातमा .... ”
नागिन्द्र कराउँदै थिए, श्रीमती मट्टीतेल खोज्दै थिईन् र तल भर्याङबाट मधुरो
गुनगुन आउँदै थियो - “... बाह्र ठाउँ टालेको हाम्रो नेपालमा ...”
इति । (पौष २०६२ मा लेखिएको र श्रावण ३, २०७० मा केहि अंश थप गरिएको ।)