Saturday, August 2, 2014

मोदीआइन

मोदीआइन 

ट्विते, फेसबुके र र्याले पत्रकारिता गर्ने अनलाइन छापाले कोलाहल गरेसी गाजा र युक्रेनको रडाको सुन्दा र गुन्दा वाक्क भैसकेको विकासे माइलोको ध्यान पनि दख्खिनी राजकिए भर्मन तिर गयो। मोदीको भर्मनको खबरले मनै चङ्गा पर्यो, लोडसेडीँग भए नि दिमागाँ उर्जा थप्यो ! मोदीको नामले दिमागाँ बत्ति बलेसी पो आइडिया आयो - इजरेलले पानि पर्या जस्तो रकेट खन्याएर बिल्लीबाँठ पारेका फिलिस्तिनीलाइ काठान्डुका गल्लिमा पुनर्बास गराउने कि !? फिलिस्तिनीलाई पुनर्बास गराए इजरेलले पक्कै काठान्डुका गल्लिमा पनि रकेट झर्दो हो र हाम्रा सागुरा गल्लि अलि फराकिला हुने थिए, भुइचालो कुर्नु पर्ने थेन ! खैर फिलिस्तानका भन्दा हाम्रा हिन्दुस्तानका मोदीका बात रसिला छन्, पोसिला छन् र बाक्ला छन् गुजराती भैँसीका दुध जस्तै ।

मोदी आउने भनेसी मैले थ्रोट क्यान्सर भा'का बि.पी. बुढालाई सम्झेँ । बि.पी. दुर्दर्सी रचन, ३५ साल पैले नै मोदी आउने देख्या रचन र पो 'मोदीआइन' भनेर  उपन्यासको गातोमा लेख्द्य रचन । हुन त खुलस्त रुपमै गुजराती मोदी '७१ सालाँ ताम-झामका साथ नेपालाँ आउनेचन् भनेर लेख्द्या भे मईन्द्र माराज रिसानी होइबक्सी बि.पी. बुढाको बिपीमा 'ग्राण्ड डिजाइन' गर्ने डर हुँदो हो । तर जे भए पनि मोदी आउनि भनेर चै सिङ्ङदर्बार सरकार राम्रै तात्या रै'छ । एस्तो तातो त पैला माराजको सवारी हुदा वा माराजको जन्मदिनको औसरमा वा गद्दीआरोनको वार्षिकीमा देखिन्थ्यो, ऐले गुजराती मोदीको भर्मनमा देखिँदै छ । नारानहिटी खालि भए पनि हाम्रो सरकारीतन्त्रको मगजबाट 'राजकीय'को तातो गाको रैनछ । आफ्ना राष्ट्रपर्मुक र सर्कारपर्मुक झुसे र छुसे भैदेसी, कसै न कसैको राजकियताको छायाँ त पार्नु पर्यो नै ! काइदा भो गुजराती मोदी आइदिए, राजै सबारी भा'सरी भो, देउतै धर्तिमा झरे सरि भो, भिर पाखा पहाडमा चुबुर्केर बसेका हाम्लाई धन्य धन्य भो !

मानगरका कर्मचारीहरु त मोदीको भर्मनलाइ लेर बेस्सरी ताते बा - बाटो सफा पर्ने, फोहोर तह लाउने, पोस्टर हटाउने, के के हो के के ! मानगरलाइ 'लाली-क्रिम' दलेर मेकप गर्न तल्लिन छन् । कस्तो काम गर्न सक्या त बा ! मोदी आउचन भनेर सरसफाईमा लागेका यिनलाई तलप युनियन सरकारले दिदो हो कि !? नत्र ढल फुटेर नरक भाको गल्लि हेरदिन समेत ५ महिना ठ्याम्म कुर्न पर्ने मानगरलाइ येत्रो जोश काँबाट आउदो हो !? न लैनचोर दुताबासले सर्कुलर जारि गर्द्यो कि!?

राम्रै भो मोदी आउने भर । बरु उनको भर्मन तालिकामा ह्यातमा बसेको भोलि पल्ट ब्यान सौच गरेसी केउ्केलको धाराको पानिले नै पखाल्ने कार्यक्रम रख्द्या भे, केउ्केलले नि राता-रात बाटो खन्दै पाइप विछ्याउदै मामइमको सुइट सम्मन् पानि पुर्यौउँदो हो । चुच्चेपाटिवासीलाइ नि राहात हुदो हो पानि आयेसी । मेलै लाग्ने भो, गुजराती पर्धानमन्तरि आर ।

मोदीलाइ बानेसोर हलको क्यान्टिनमा इलामे च्या पकाएर ख्वाउने रे, सफामुकले ! अस्ति भर्खर बासि ख्वायो भनेर बन्द गर्या साहुले नै पकाउने हो कि न, मोदीलाइ पखाला नलाओश ! मोदी थालिए भने हाम्लाई गाल आइपर्ला । अर्को १७ वर्षसम्म दख्खिनका पर्मुख पाहाडाँ खुट्टो टेक्न नआउलान ! तर राम्रै हुने भो, मोदीले सदनाँ भासन दिने भनेर । सबासाद भनाउदा त आउँदा हुन् नि च्याट्ट परेर मोदीको हिन्दि भासन सुन्न ! मोदीले टपक्क टिपेर पर्धानमन्तरी बनाउलान कि भन्ने आस त सपैलाइ हुँदो हो ! सदनाँ मोदीलाइ नमस्कार गर्लान, हिन्दिमै बात मार्लान, अलंकारी वस्तु झैँ गरेर मोदीलाइ छुन खोज्लान, र उस्तै परे साष्टंग दण्डवत पनि गर्लान् ।   बबुरा सफामुखलाइ नि हेलो हुदो हो, सप्पै सबासाद आइदेर - कतिका त नाम र अन्वार समेत भुली सके हुनन् ।      

सर्कारीतन्त्र, पर्रास्ट अद्द्येन, विस्सो-विध्यालए जम्मै ठण्डाराम भैदेर सर्कारलाइ मोदीको भर्मनको मुखाँ ठुलो अफ्ठ्यारो पर्यो - मोदी सँग के माग्ने भन्ने निर्नए नभर । येत्रो सहरै, सरकारै, राज्यै ठप्प पारेर, तन् मन् वचन् र कर्मले भर्मन राजकीय बनायेसी त माग्नु पर्यो नि ! लिस्ट डेब्लप कन्टी भएसी त माग्ने जन्मसिद्द अदिकार हो! माग्ने नि छाति फुलार माग्ने! मग्न त माग्ने  तर माग्ने चै के !? यै कुराले सरकारको कन्पारो तात्या रै'छ । सर्कारीतन्त्रलाइ मोदी आउलान र माग्नु पर्चा भने हेक्का पैलेई भएन, पर्रास्टलाइ येमारपीको बेपार गरेर फुर्सत थेन, विस्सो-विध्यालाएका पार्द्यापक आफ्नै एनजीओलाइ माग्न व्यस्त थे, अनि सरकारलाइ माग्न कल्ले सयोग गर्देओस् ? तर ठिकै छ, मोदीसंग ऐले नै नमागे पनि पछि निर्क्योल गरेर हाम्रा पर्दानमन्तरी त माग्न दिल्ली पुग्ने नै हुन् ।    

१७ वर्षे मेलै लाग्ने भो मोदी आ'र ! एक मैना देखि यिन् कै चर्चाको राज्गाजी छ - सर्काराँ, पत्रिकाँ, च्या पसलाँ, जैंतैं । मिडिया भन्नेहरुकोमा त लिगलिगे दौड नै सुरु भयो - कल्ले मोदीको भर्मनको न्युज झ्याप झ्याप दिने ! मोदी आउने भनेर आइतबार र सौबार त बिदै दिनच क्यारे सर्कारले ! १-२ दिन त मै झुक्केँ यिनै हाम्रा पर्मुककार्यकारी हुन् कि भनेर । पछि पो पत्रिकाँ अम्रिकाबाट थेरापी गरेर फर्क्या फुले बुढाको फोटो देखेर पो झल्यास्स भए - यी बुढा पो हाम्रो पर्धान्मन्तरी !        



Tuesday, February 11, 2014

Rhino महात्म्य अर्थात् माथिल्लो श्वाशप्रश्वाश प्रणाली संक्रमण

Rhino महात्म्य अर्थात् माथिल्लो श्वाशप्रश्वाश प्रणाली संक्रमण

१. श्री ४ Rhinovirus

सम्पूर्ण राज्य व्यवस्था र समग्रमा मानिसको चोला नै संक्रमणको अवस्थामा रहेको बेला बेफ्वाँकाको श्वाश प्रणाली संक्रमको कुरोले खैलाबैला सृजना नगरे पनि Rhinovirusले विषेशत हिमवत खण्डका नेपाल मण्डलका दोपाया प्राणिहरुलाइ दिएको पिडाको बारे लेख्नु जरुरि छ । धार्नीमा तौलेर जोख्ने हो भने Rhinovirusले प्राणिजनलाइ दिएको दु:ख कुनै नागार्जुन निवासी सामन्त वा आयातित ‘जेल’ प्रयोग गरि केशसज्जा गर्ने सर्बहारा नेता वा सरकारका उच्च पदमा आसिन भै जनता जनार्दनलाइ कुनै सिन्कोसम्मको सेवा प्रवाह नगरी घायल-कायल पार्ने अधिकारि वा दक्खिनका छिमेकि भै टोपली या गोरा कुटनैतिक निकायका ‘नेपाल कुरा’का विज्ञ भै मुलुकको अर्थ-राजनीतिक अवस्था गाइजात्रे पार्नेहरुको भन्दा कुनै मात्रामा कम छैन । यसै सन्दर्भमा Rhinovirusले आफ्नो ज्यानलाई दिएको सकस खप्न नसकी विकासशास्त्री विकासाचार्य विकासे माइलाले आफ्नु फेसबुक र स्थानीय “जैरे रिपोर्टर” दैनिकमा २२ नोवेम्बर २०१० मा करुणादायी र आक्रोशपूर्ण अभिव्यक्ति प्रकट गरेका थिए जो समकालीन दुर्वाच्य र लेख्य कटुताका अतिरथी संग्रौलाका लेख्य परम्परासंग समेत तुलना योग्य थियो:

“हैन यो Rhino Virus को जात कस्तो - एक बाल्टी तातो पनि सिध्याउँदा पनि निख्रिदैँन, सिरक मा गुट्मुटे पनि रित्तिदैनँ । संसारका पाजी Researcher पनि के भाका - सिङ्गै Rhino सिद्ध्याउने बन्दुक बनाउन सक्ने त्यो नाथे Rhino Virus निमिट्यन्न पार्ने जैरे Vaccine बनाउन नसक्ने ?

दुई छाक दाल-भात खुवाएर पालेको यो शरीर पनि कस्तो बेइमानी - तेत्रो Virus को जत्थाले आक्रमण गर्दा पनि प्रतिरक्षा को लागि Immunoglobulin पैदा गर्नु त कता हो कता नाकबाट सिँगान चुहाएर बस्ने ? हैन यो Rhino Virus को जात पनि कति जर्कटो - माथ्लापट्टीको Respiratory Tract मा आफैँ मात्र रजाइँ गरेर नपुगेर तेस्का बाजे सबै Bacteria लाई फ्ल्याट भाडामा लगाउने हँ ? हैन ए Rhino Virus तँ सधैं यता--उताको ठिमाहा "जिब" भएर बस्ने ? तँलाई Darwin बुढाले भनेको जस्तो evolve हुनु पर्दैन ?(विकासे माइला, २०१०)

सो अभिव्यक्तिले सामाजिक संजाल तथा ‘वात, पित्त र कफ’को कैफियत भई ढलेका सन्निपाते रोगिझैँ भएका नेपाली (हाम)संचार माध्याममा ठुलो हलचल पैदा गरेको थियो । तथापि सम्पूर्ण मानब अंगप्रणालीलाई आघात पार्न सक्ने Rhinovirusको सो कुकृत्य न त सरकारका जिम्मेवार व्यक्तिले सुने, न त जनस्वास्थ्यका तालुकदारले गुने, न त कृपानीधि सृष्टिकर्ता ब्रह्माले आवस्यक हस्तक्षेप गर्नु पर्ने ठाने । भारतीय कम्पनिका सस्ता जीवनजल, प्यारासिटामोल, अलबेन्डाजोल, ओमेप्राजोल, र सुत्केरी सामाग्री आदि मुलुकका २ कोठे स्वास्थ्य चौकीहरुमा बाँड्ने ठेकेदारीमा आफ्नो जनस्वास्थिय दायित्व पुरा भएको देख्ने मन्त्रालयका एक अधिकृतले त स्वईन फ्लु, बर्ड फ्लु आदि तिनतारे जर्नेलजस्ता जब्बरे virusका कोकोहोलोका विच फ्लुको categoryमा समेत नपर्ने Rhinovirusको “हिउँदे रोपाइँ” नगर्न चेतावानी समेत दिए । हुन त सरकारी भ्रमण टोलिमा संलग्न हुने उच्च घनटाउके अधिकारीले जनैको पर्वाह नगरी बिदेशमा पोर्कका पकवान सेवन गरि रुग्ण त्रि.अ.वि.मा अवतरण हुँदा “ल है स्वईन फ्लु पो लागेछ !” भनि उनको सुसार गर्दिनुपर्ने महामारी विभागले ‘६२ सालमा नागरिकता लिएको एक नागरिकको दुखेसो किन पो सुन्थ्यो र ?

यसरि जिम्मेवार निकायले सुनुवाई नगर्दा Rhinovirus झन् बढी हौसिई आफ्नो कार्यव्यापारमा दत्तचित्त भई लाग्दो भयो ! उता का.मा.पा.ले सडक विस्तारका नाममा नेपाल मण्डलका बाटा भत्काउँदा चरम वायु प्रदुषण हुन गइ यस मण्डलका २५ लाख मानिसका स्वास प्रणाली क्षिण हुन गइ, Rhinovirus र उसका परिवारजनलाइ सत्र पर्दो भयो । यसरि नेपाल मण्डलका आयुका छोरालाइ मात्र हैन सुदुर गिरिका लोपुन्मुख हायुका छोरालाइ पनि वायु र श्री ४ Rhinovirusले छुने भयो । यस्तै येन-केन-प्रकाणेन श्री ४ Rhino का काम कारबाही दक्खिनी सिमाको अतिक्रमण झैँ निर्बाध चलिरहँदा नेपाल मण्डलका बातावरण मन्त्रालयका फाँटवाला अधिकारिहरुलाइ पनि Rhino र उनका स्वजनले न्याकी थला पारेका छन् भनि सुन्नमा आएको छ – आखिर कुष्ठ रोग र एड्सले झैँ महामहिम Rhinovirusले पनि ठुलो सानो भनि नछुट्याउने रहेछन् !

२. श्री ४ Streptococcus

जस्तै नै ‘मै हुँ’ भन्ने माफिया, द्रव्यपिशाच र संबेदनशिल सामाजिक सेवाका व्यापारमा जुटेका ब्यापारीगण डा. केसीका नैतिक मागका अगाडी औलोका रोगि कामे झैँ विकासे माइलाले अन्तरात्मा देखिन् सत्तोसराप गरेपछि Rhinovirusका अहंमा चोट पर्दो भयो । तत् पश्चात विकासे माइलाका फेसबुके वाक्य वचन सहन नसकी र धारा १० mgका Cetrizineको प्रयोगले राइनो भाइरसका खलक विकासे माइलाका उपल्लो स्वास प्रणालीको आफ्नो घरडेरा छाडी अन्तै जाँदा भए । काठमाडौँका न्युरोड, महाबौद्ध, लाजिम्पाट, बालुवाटार, महाराजगंज आदि ठाउँका prime real estate जस्ता मानिसको अत्यन्तै संवेदनशिल उपल्लो स्वास प्रणालीको डेरा धेरै दिनका लागि के खालि रहन्थ्यो र, Streptococcus नामक एक Gram Positive व्यापारिक घरानाले माइलाको उक्त ठाउँ व्यापारिक प्रयोजनार्थ भाडामा लिई मालअड्डा जमाइ बस्दो भयो । अड्डा खोलेको ३ दिन भित्र नै उक्त Streptococcusले Coronavirus, Influenza virus, Adenovirus, Haemophilus, Moraxella आदिलाइ व्यापारिक साझेदार राखी नेपाल मण्डलका कुख्याता व्यापारी सुमार्गीले झैँ Rhinitis, Sinusitis, Nasopharyngitis, Pharyngitis, Laryngitis जस्ता विविध उत्पादनको समुन्द्रपार व्यापार गर्दो भयो । Rhinovirusले थातथलो छोडे पनि Streptococcus संग गोप्य गठबन्धन गरि अधच्छे काम्रेडले झैँ Streptococcusलाई व्यापारका निमित्त अरबौँको लगानी श्रोत जुटाइदेको पनि सुन्नमा आउँदो भयो ।

असनको अन्नपुर्ण मन्दिरको चोक जस्तो ठाउँमा रहेको Streptococcusको मालअड्डा इन्द्रचोकको सारी पसल भन्दा बढी चल्दो भयो । छोटो समयमै Streptococcusले आफ्नो कु-उत्पादनको ब्यापार अंग्रेजको East-India Companyले हिन्दोस्ताँमा गरे झैँ माइलाका अन्य शारीरिक बजार क्षेत्रहरुमा समेत विस्तार गरि माइलाको सम्पूर्ण शारीरिक र मानसिक प्रणाली कब्जामा लिई उपनिवेश कायम गर्दो भयो । Streptococcusको औपनिवेशिक हुकुमतका कारण माइलालाइ नाकमा खसखस हुने, सिंगान बग्ने, हाच्छ्युँ आउने, ज्वोरो आउने, टाउको दुख्ने, थकान हुने आदि हुन थाल्यो ।

Streptocossusको अत्याचार सहन मुस्किल भै धारा १० mgका Cetrizineको प्रयोग गरि चिल्लो, पिरो र चिसो खान्कीमा प्रतिबन्ध घोषणा गरि नाकबन्दिको प्रयोगद्वारा Streptocossusका माल परिवहन हुने र व्यापारिक चोक पुग्ने दोबाटाहरुमा नाकाबन्दी गरियो । कुलमण्डन खाँका एक सन्ततिले फल्तुपदेशमा “दख्खिन रुपैयाँ निकासी गर्नु औ वैद्यका मात्रा माफीकका पेनिसिलिन खिच्नु” भनि उल्लेख गरे झैँ धारा ५०० mgका Amoxycillinको प्रयोग गरि Streptocossusको औपनिवेशिक धन्दा पतन गराउने योजना गर्दा एक जानिफकारले “सौताको रिसले पोइको नाक काट्नु” भन्ने कथन चरितार्थ हुने भन्ने दर्शाएकाले सो योजना कार्यन्वयन नगरी खान्कीको प्रतिबन्द र दोबाटोका नाकाबन्द कायम गरि धारा १० mgका Cetrizineको प्रयोग गरि Streptocossusलाइ नियन्त्रणमा लिने कार्य गरियो ।

३. निष्कर्ष 

राज्यका अदुरदर्शी स्वास्थ्य, वातावरण ताथ शहरी नीतिका कारण मौलाइरहेको Rhinovirus Streptococcus जस्ता परजीवीका एकाधिकारबादी र औपनिवेशिक बजार व्यवस्था उपर माथ गर्नु आज को आवश्यकता हो । ति परजीवीका आक्रामक बजार नीति पश्चात: हुने हानि निर्मुलिकरणका लागि प्रयोग हुने Cetrizine, Rhinex, Decold, Amoxycillin जस्ता महँगा सशत्रको प्रयोग भन्दा ति परजीवीका आक्रमण र उपनिवेशिकरण हुन नदिनु बुद्धिमानी ठहर्छ । सोका लागि यथेष्ट मात्रामा (चौधरी या डाबरका) च्यावान्प्राश नियमित सुँघ्ने (पुन:श्च, ‘सर्बहारा’ नेपालिको बहुराष्ट्रिय कम्पनिहरुबाट उत्पादित ‘आयुर्बेदिक’ चुर्ण नियमित सेवन गर्ने ल्याकत छैन भन्ने कुरो छर्लंगै छ) र नम्बरी सुनका भाउ अनुरुपका भिटामिन सी जन्य फलफुलको सके सेवन गर्ने नसके ‘अमिलो रैछ’ भन्दै पसलबाट तर्किने, जतापायो तेतै पाइने म:म नखाने (किटानी जाहेरी गर्नुपर्दा हवार्ह्वारे म:म, टपरी म:म, लाम्चो टिबेटन म:म, खुला म:म, कुखुराको मासु भन्दा सासु ज्यादा पेलिएको म:म, ढाड सेकान मुल्य राखिएका रेस्टुराँका म:म आदि), गुन्द्रुक खाँदे झैँ मान्छे खाँद्ने सर्वाजनिक बस-माइक्रो चढ्दै नचढ्ने, जाडोमा एक सिजन खेप्ने चिनियाँ वस्त्रको पत्र धारण गरि क्षणभंगुर शरीरलाइ न्यानो पर्ने र नेपाल मण्डलका बाटो चाहार्दा सम्पूर्ण रुपमा चेहेरामा (विशेष:त नाकका पोरा) मुखबन्दि वा नाकबन्दि गर्ने । कथंकदाचित् यति गर्दा पनि Rhinovirus या Streptococcus र तिनका स्वजनले धावा बोलि स्वाशप्रस्वाश प्रणालीमा उपनिवेश खडा गरेमा परब्रह्मा, परमात्मा, करुनानिधि, चैतन्यस्वरुप पशुपतिनाथको शरणागत भई ‘बोल बम्’ गाइ ‘कुन बेला संक्रमण उग्र भई ज्यानले धन्न नसकी उपर्ताली फर्केला’ भन्ने चिन्तन र विषाद गरि, आर्जेघाट छेउको हुताराम बुढाले उद्धार गर्न नसकेका बागमतीका दुर्गन्धी नाली सम्झी परमात्मामा लिन हुने क्षण कुर्ने बहेक अरु उपाए देखिँदैन ।

नारायण !

Tuesday, February 4, 2014

प्रचुरता

प्रचुरता

प्रचुरता 
अनिर्णयको,
नैरास्यताको,
कर्महिनताको
कुविचारको,
असहिष्णुताको,
घ्रिणा, आवेग सुष्कताको,
आडम्बरको,
अमानवीयताको
प्रचुरता
निरस  मुल्यहिन जीवनको !

(अनन्द राज देवकोटा, जुलाई २०११)

http://fillermagazine.com/culture/gallery/interview-with-artist-joseph-loughborough/

अभाव

अभाव

अभाव
लक्ष्यको,
सोचको,
दुर-दृष्टिको,
सपनाको,
आँट साहसको,
अभाव
कर्मको !

अभाव
ज्ञानको,
विज्ञानको,
अध्ययनको,
चेतनाको,
अभाव
ज्ञानज्योतिको !

अभाव
दायाको,
करुणाको,
प्रेमको,
मानवताको,
नैतिकताको,
अभाव
धर्मको !

अभाव
सम्यक् दृष्टिको,
सम्यक् वाक्को,
सम्यक् भावको,
सम्यक् कृयाको,
अभाव
बुद्धत्वको !

(आनन्द राज देवकोटा, १ जुलाई २०११)

http://www.artnindia.com/wp-content/uploads/2013/06/IMG26a.jpg

Thursday, July 18, 2013

डम्बर काजी र उनका छोराहरु - कन्था २ – फलाटिन

डम्बर काजी र उनका छोराहरु
(Dambar Kaji and his Sons)

कन्था २ – फलाटिन

नगेन्द्रका पिता घाम तापिरहेका थिए । थापा काजि नयाँ लुगामा ठाँटिएर ठमठम पर्दै माथि उक्ल्यो ।

“बुझ्नु भयो खड्का बाजे, मैले त फलाटिनको कपडा लाउन थालें । खद्दरको कपडा त तुच्छ हुन्छ, जिउ चिलाउने मात्रै।” – ओच्छ्याइएको सुकुलमा बस्दै थापाले भन्यो ।

आफ्नु दौरामा भएका जुम्रा मार्दै गरेका खड्का बाजेले बिस्तारै टाउको उठाएर थापा काजि उपर गौर गरे । दर्जीले टायम अनुसारको फेसनमा सिलाएको फलाटेनका नयाँ लुगा आकर्षक देखिन्थ्यो । नयाँ लुगा बुढालाई देखाउन पाउँदा थापाको नाक फुलेर घिरौंला जत्रो भएको थियो ।

“कठै बरा खड्का बाजे, नागिन्द्रले एक सरो राम्रो कपडा पनि लाउन दिंदैनन् कि क्या हो ? हेर लुगाको गति !” – बुढाले हातमा लिएको चिथरा प्रति इंगित गर्दै थापा भन्छ । खड्का बुढाको प्रतिक्रिया पर्खंदै नपर्खी थापा अझै भन्छन् – “यस्तो थाङ्ना जस्तो लुगाले त जुत्ता पुच्छन् मान्छेले । खै एता ल्याउनुस !” त्यसो भन्दै बुढाको हातको दौरा थुत्दै थापा आफ्नो जुत्ता पुच्छन थाल्छन् । खड्का बुढा रिसले आगो हुन्छन् र बम्किनछन् ।

“एई पाजी थापा, के गर्यौ मेरो दौराले !”

“अनि के त, खड्का बाजेले पनि एस्तो लाउने ! अलि सुहाएन । कपडा भन्या त एस्तो हुन्छ – फलाटिनको ।” – जिउमा भाउ लाउँदै थापाले प्रतिबाद गर्न खोज्यो । तर बुढा के रोकिन्थे र, उल्टै बरण्डाबाट दुई हात माथि उफ्रौंला झैँ गरि जोड रफ्तारले कराउन थाले -

“कुनै काँठाको जग्गा दलाली गरेको पैसाले हाल्यौ होला फलाटेन, मलाई केको देखाउँछौ ? खद्दर लाउँ कि मलमल तिमिलाई घरघरै आएर चियाउने के को चासो ! गै हाल तिमि यहाँ बाट ।”

थापा भुत्भुताउँदै घरबाट निस्कियो र बुढा स्याँ-स्याँ गर्दै लज्जित भएर पुन: दौराका परजीबी हेर्न थाले ।

त्यस दिन बेलुकी खाना खाने बेलामा नागिन्द्रका पिता माथि भान्सामा उक्लिछन् जहाँ नागेन्द्र खाना खाना लागेका हुन्छन् । दाहिने हातमा आफ्नु चिथरा र देब्रे हातमा नागिन्द्रको सुकिलो कोट लिँदै खड्का बुढा छेउको पिर्कामा बस्चन र एकछिन नागिन्द्रलाइ गौर गर्छन् । टाउको घुमाएर चुल्हो छेउ बसेकी बुहारीलाई हेरी बुढा कतै सुदुर क्षितिज तिर हेरेको जसरि भित्तामा एकटकले हेर्छन् र गुन्गुनाउन थाल्छन् –

“कोहीको लुगा बत्तुले बलेको, कोहीको लुगा बाह्र ठाउँ टालेको हाम्रो नेपाल् मा ... ”

तत् समयमा नागिन्द्रको गाँसमा ढुंगा लाग्छ र मट्टीतेल सकिएको डिबियाको बत्ति बिस्तारै मधुरो हुँदै निभ्छ, भान्छा अन्धकार हुन्छ । उता बुढा अगिकै गीत एकोहोरो रटान लागाइरहेका हुन्छन् – “बाह्र ठाउँ टालेको हाम्रो नेपालमा ... ” । अँध्यारोको गाँस छाडेर नागिन्द्र डिबियामा बत्तिको जोहो गर्न लागेकी  श्रीमती उपर खानिन्छन् –

“तिमि दिउँसै मट्टीतेल किन हाल्दौन, बजारमा मट्टीतेल किन्न पाइदैन र ? घाम छँदै चामल हेर्छौ कि हेर्दौन ? किन यति बिघ्न ढुंगा भातमा .... ”

नागिन्द्र कराउँदै थिए, श्रीमती मट्टीतेल खोज्दै थिईन् र तल भर्याङबाट मधुरो गुनगुन आउँदै थियो - “... बाह्र ठाउँ टालेको हाम्रो नेपालमा ...”  


इति । (पौष २०६२ मा लेखिएको र श्रावण ३, २०७० मा केहि अंश थप गरिएको ।)


Monday, July 8, 2013

नेपाल गाँडराज्यको संबिधान २०७०



नेपाल गाँडराज्यको संबिधान
२०७०


प्रस्तावना

          १० वर्षे लामो माउबादी धनयुद्ध, तत्पश्चातको दख्खिन तीरका "ठुल्दाइ"को रहोवरमा भएको दिल्ली समझ्दारी लगत्तैको २०६३ सालको "ज्ञानिन्द्र धपाउ आन्दोलन" पश्चात कोरलिएको गाँडतन्त्रले संबिधान सभाको चुनाव गराएको सर्वबिदितै अम्रिकाने कार्टरले पनि लाहा छाप सहित सो चुनापलाई अनुमोदन गरि ६०१ वटा दुई खुट्टे प्रजातीहरुलाई वानेश्वोर स्थित चिनियाँ गोठमा हुलिकन वर्ष सम्म घाँस, पराल दानापानी हालेकै हो चुनाप सकिए पछी मुलुकका साढे दुई कोटी निम्छराहरुले ठुलै कुरा झर्ला खाउँला भनी आशा पनि गरेकै हो यद्यपी ती दुई खुट्टे गोरुहरुले वर्ष सम्म बानेश्वोर, सिङ्हदर्बार, बालुवटार, लैन्चौर, रत्नपर्क अन्यत्र सिँगौरी खेलेर नै बिताएको पनि प्रस्टै संविधानका खातिर - काला अक्षर पनि नकोतरेको छर्लङ्गै यिनै कुरालाई ह्रिदयङ्गम गरि, ६०१ प्रजातीहरुलाई सराप्दै, हामि जनता/ जनार्दन/ प्रजा/ पब्लिक/ पिपल/ रैथानेहरुमा निहित भत्ता रहित "सर्वभौमासत्ता"को उपयोग गरि यो अम्रीकानेहरुको भन्दा छोटो बेलाइतीहरुको भन्दा लामो संबिधान जारी गरिएको

 भाग (प्ररम्भिक अन्त्य)

धारा , उपधारा , KUKLको पानी नआउने धारा , NGOले गाउँगाउँ मा बनाउने धारा अनेक: 
          यो नेपाल गाँडराज्यको संबिधान हुनेछ, तर तराई, मधेश, चुरे, भोट अनेक "वान" आदि ठाउँकाले पनि -आफ्नै संबिधान जारी गरेमा ति संबिधान संयोग मात्र हुने न्  

धारा , उपधारा , सत्ता , भत्ता अनेक:
          कान्तिपथ तीर बसेको निर्वाचन आयोगले बेला-मौका हेरी, दाता-त्रीसँग कागज, मसी मतपेटिका मागी ट्याम्-ट्याममा चुनाप गराउने तेस्ता चुनापमा चुनिए पनि नचुनिए पनि केही दलका ब्यक्तिहरुले दख्खिन तीरका "ठुल्दाइ"को सर्सल्लहमा मुलुक चलाउने छन्

धारा , उपधारा , "आयल" , घायल अनेक:
          नेपालाँ एउटा सर्बोच्च अदालत हुनेछ तर चोर, फटाहा, भ्रस्टाचारि, ब्यभिचारी आदिलाई त्यहाँ उभिनु पर्ने छैन, मन्त्री दलका मान्छेहरुले तिनीहरुलाई कारागारबाटै छुटाउन सक्नेछन् साथै ट्याम्-ट्याममा लहडमा सर्वोच्चले दिने निर्देशनात्मक आदेशको पालना नगरे पनि सर्कारलाई वात लाग्ने छैन । 

धारा १, उपधारा ४, सर्वभौमासत्ता १, आयातित नागरिक अनेक:
          चुनाप नजिकिँदै गर्दा खाँडी वस्त्रधारी दलका अगुवा नेताका दबाबमा जि.प्र.का. र गा.वि.स.ले विषेशत: दक्खिनी जिल्लाका आप्रवासी व्यक्तिलाइ नाग्रिकताको परमानपत्र बाँड्ने छन्, यद्यपि सालिन्दा नाग्रिकता बाँड्दा पनि नागरिकताहिन व्यक्तिहरुको संख्यामा कमि आउँने छैन ।

धारा १, उपधारा ५, राष्ट्र बैंक १, वाणिज्य र विकासे बैंक अनेक:
          नेपालाँ एक केन्द्रिय बैंक हुने छ जसले वर्षेनी जति मौद्रिक नीति छ्याँसे पनि मूल्य वृद्धिले अकास छुने छ । साथै यस बैंकले फाल्तु सर्कारले खर्च गर्न नसकेको र राजस्व बिभागले गरिप र निमुखा नागरिकहरुबाट चुसीचुसी र ठुसीठुसी उठाएको करको रकम सन्दुकमा थन्क्याएर राख्ने छ । तथापि असाराँ सर्कारले सो रकम हतार हतार खर्च गरि काम देखाउने छ ।

धारा १, उपधारा ६, योजना आयोग १, कागजी योजना अनेक:
          नेपालाँ एक योजना आयोग हुने छ जसले ५-५ वा ३-३ वर्षमा तारे होटेलमा सम्मेलन गरि दोहोरो अंकको वृद्धिको चुटकिला सुनाउने छ र जग-हँसाई गर्ने छ । राजनैतिक नियुक्तिको पैँचो तिर्न आयोगका कारिन्दाले तत् तत् दलका चुनापी क्षेत्रका योजना प्राथमिकिकरण गर्नेछन्, अर्थ मन्त्रालयले पैसो निकासा गर्ने छ र असार मसान्त सम्ममा स्थानीय र केन्द्रीय तहका दलका मान्छे, गुण्डा नाइके, ठेकेदार, सरकारी कर्मचारी, प्राविधिक र विकासे तालुकदारहरुले बाँडीचुँडी सो रकम झ्वाम पार्ने छन् । कथं कदाचित् केन्द्रबाट छुट्टयाइएको रकमले गुणस्तरीय काम भइ तोकिएको समुदायमा लाभ पुग्न गएमा संयोग मात्र ठहरिने छ ।    

धारा १, उपधारा ७, मानवता १, मानव अधिकारको बारेमा खोक्ने अनेक:
          नेपालीलाइ हक-अधिकार ‘वानरको हातमा नरिवल’ सिद्ध भएको सर्वाबिधितै छ । तथापी संबिधानमा जति नै हक र अधिकार लेखे पनि / दिए पनि नपुग हुने स्थिति छ । तसार्थ पैरवि गर्ने विकासे संस्थाहरुलाइ अधिकारको बारेमा फलाक्ने व्यवस्था गरि, संकीर्ण र क्षेत्रिय विचार वोक्ने अविवेकी दलका मान्छे, मजदुर र विद्यार्थी संगठनका भुसतिघ्रे, ‘वस्तु’ भन्दा धेरै ‘कु-वस्तु’को व्यापार गर्ने र सिण्डीकेट र कार्टेलिंगमा विस्वास गर्न साहु-माहजनका संगठन, राजमार्ग छेउमा कटबाँसका भाटा लिएर बस्न सक्ने बेरोजगारका झुण्ड, टपरटुईँयाहरुको झुण्ड आदि समुहकाले जे-जति सक्दो  अराजकता सृजना गरि पंगु सर्कारलाइ घुँडा टेकाई जति मोलमोलाई गरि हक, अधिकार आदि माग्ने अधिकार सुरक्षित गरिएको छ । साथै प्रहरी प्रशासन प्रतक्षदर्शी र  मुकदर्शक बन्ने अराजकता सृजना गरेको भरमा माथि उल्लेखित संगठन नजिकका व्यक्तिहरुलाइ उनीहरुको पहुँच र औकात हेरी सर्कारले राज्यकोषबाट असिमित ‘क्षतिपुर्ती’, ‘हर्जाना’, ‘राहत’ आदि बाँड्न सक्ने छ ।

धारा १, उपधारा ८, राजकाज खोसिएका माराजा १, ‘रजौटा’का अधिपति अनेक:
          माराजाका नाराइनहिटी दर्बार खोसिएको र सानेपा, वल्खु, कोटेस्वर, लैनचौर आदि स्थानमा स-स्याना ‘राज्य-रजौटा’ सृजना भएको अवस्थामा न त रजौटाका अधिपति, न त सर्कारका मुन्छे, न त संघ-संगठनहरु कसै प्रति उत्तरदयी हुने छन् । दल, मजदुर र विद्यार्थी संगठन, साहु-माहजनका संगठन, बेरोजगार र टपरटुईँयाका झुण्ड र अनेक स्वार्थ समूहका अराजक दवाबमा जस्तै अविवेकी निर्णय / कार्य  राज्य, सरकार वा दलका व्यक्तिहरुले गरे पनि सो निर्णय / कार्यको वारेमा अदालत, संबैधानिक निकाय वा सरकारी निकायमा बहस गरिने छैन, प्रश्न उठाउन पाइने छैन । संचार माध्यमले त्यस्ता कुरा फलाकेमा सम्बन्धित निकायले एक कानबाट सुनेर अर्को कानले उँडाउने छन्  ।

धारा १२७, आयोजना , प्राधिकरण , लाइसन्स अनेक:
          दलहरुको सत्ता, भत्ता क्यासिनोमा खेलिने तासको पत्ताको खेल आफू अनुकुल पार्न मन परि गर्न अझै बाधा आइ परेमा बिगतमा ज्ञानिन्द्र माराजले झैँ धारा १२७ प्रयोग गरि जुनसुकै बाधालाई टर्न सकिने


आगे गैरके यथोचित
श्री पशुपतिनाथले पनि कति कल्याण गरुन् !?

जेठ १३, २०६९ कोतर्न सुरु भै असार २४, २०७०मा टुंगिइ असार २४, २०७०मै जारि भएको ।